नेपाल सरकारका जिल्ला स्थित संघीय कार्यालयहरू र स्थानीय निकायहरूलाई रकम निकासा दिने, आन्तरिक लेखापरीक्षण गर्ने, विनियोजन, राजस्व, धरौटी र विविध खाता सञ्चालन गर्ने र सो को एकीकृत विवरण तयार गरी महालेखा नियन्त्रण कार्यालयमा पेश गर्ने उद्देश्य अनुरूप महालेखा नियन्त्रण कार्यालयको प्रतिनिधि कार्यालयको रूपमा कोष तथा लेखा नियन्त्रण कार्यालय सल्यानको स्थापना वि.सं. २०३८ सालमा भएको हो। जिल्ला स्तरमा कोष तथा लेखा नियन्त्रण कार्यालय स्थापना भएपछि सम्पूर्ण सरकारी कारोबारको व्यवस्थापक एवं नियामक निकायको रूपमा कार्य सञ्चालन हुँदै आएको छ।

महालेखा नियन्त्रण कार्यालयको मार्गदर्शन बमोजिम प्रविधिमा आधारित Treasury Single Account (TSA), राजस्व व्यवस्थापन सूचना प्रणाली (RMIS) र कम्प्युटरमा आधारित सरकारी लेखा प्रणाली (Computerized Government Accounting System - CGAS) पूर्ण रूपमा लागू गरी सरकारी आर्थिक कारोबार सञ्चालन गरिएको छ। चालु आर्थिक वर्षदेखि सार्वजनिक सम्पत्ति व्यवस्थापन प्रणाली (PAMS) को कार्यान्वयन सुरु गरिएको छ।

सल्यान जिल्लाका १० वटै स्थानीय तहहरूले (नगरपालिका र गाउँपालिका) संघीय सरकारबाट प्राप्त गर्ने सबै किसिमका अनुदानहरूको निकासा दिने व्यवस्था कोष तथा लेखा नियन्त्रण कार्यालय सल्यानले गर्दै आएको छ। जिल्लास्थित स्थानीय तहहरूले प्राप्त गर्ने राजस्व तथा खर्चको अनुमान अर्थात् बजेट अभिलेख तयार गरी सोको आधारमा लेखांकन तथा वित्तीय प्रतिवेदन प्राप्त गर्न सकिने गरी विकास गरिएको स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (Subnational Treasury Regulatory Application - SuTRA) आ.व. २०७५/७६ देखि यस जिल्लाका १० वटै स्थानीय तहमा पूर्ण रूपमा कार्यान्वयनमा ल्याइएको छ।